Welcome
सूचना विभाग सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतका विभिन्न विभागहरूमध्येको एउटा विभाग हो । यस विभागको स्थापना वि.सं. २००५ सालमा राणा प्रधानमन्त्री मोहनशमशेरका पालामा 'प्रचार विभाग' का नामबाट भएको थियो । नेपालका विभिन्न भागहरूमा भएका विकासका काम र घटनासम्बन्धी विवरण बडाहाकिम मार्फत प्राप्त गरी प्रचार विभागका डाइरेक्टरले जाँच गरी प्रकाशन गर्न पठाइन्थ्यो । त्यस समयका शारदा, उद्योग आदि साहित्यिक पत्रिका र युगवाणी, नेपाल पुकार जस्ता विचार प्रधान पत्रिकामा प्रचार विभागबाट जाँच भएर मात्र लेखरचना प्रकाशित हुन्थे । भारत तथा अन्य देशबाट आएका पत्रपत्रिकालाई हुलाक र थानकोटमा रोकी विभागमा ल्याएर जाँच गरेपछि मात्र सम्बन्धित प्रापकलाई बुझाइन्थ्यो । नेपालसम्बन्धी र नेपालमा छापिएका पुस्तकहरू पनि प्रचार विभागले जाँच्ने र आपत्तिजनक भए जफत गरिने र नभए बजारमा बिक्रीका लागि पठाउने गरिन्थ्यो ।